डोटी/किसान बहुउद्देश्यीय सहकारी संस्था शाखा कार्यालय सिलगढीले गाउँगाउँमा किसानहरुलाई सहकारी शिक्षा तथा तरकारी खेती सम्बन्धी जानकारी दिदै आएको छ ।
बहुउद्देश्यीय सहकारीले बुधबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ देउगडाका किसानहरुलाई सहकारी शिक्षा तथा तरकारी उत्पादन तथा करेसाबारी निमार्ण सम्बन्धी जानकारी दिएको किसान बहुउदेश्यीय सहकारी संस्था शाखा कार्यालय सिलगढीका शाखा प्रमुख अमरराज भण्डारीले बताए ।


हाम्रो सहकारीको मुख्य उद्देश्य भनेको प्रत्येक किसानहरुले आ-आफ्नो घरघरमा सानो करेसाबारी बनाई आफै उत्पादन गरी स्वच्छ तरकारी खानु हो, त्यही अनुरुप सहकारीले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए ।
सहकारीले आयोजना गरेको सहकारी शिक्षा तथा करेसाबारी निमार्ण सम्बन्धी छलफल कार्यक्रममा एक सय भन्दा बढी महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश अन्तर्गत ३६ वटा शाखा मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको सहकारीमा ७६ हजार जना शेयर सदस्यहरु रहेको समेत शाखा प्रमुख भण्डारीले बताए ।









