किरन भट्ट,
डोटीको दुर्गम क्षेत्र बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा निर्माण भएको हेलिप्याड नेपाली सेनाद्वारा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको समन्वयमा सिलगढी स्थित भैरव प्रसाद गणले नेपाली सेनाको क्युआपी कार्यक्रम अन्तर्गत ५ लाखको लगानीमा हेलिप्याडको निर्माण गरिएको गणका मेजर सन्तोष चन्दले जानकारी दिए ।


हेलिप्याडको सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सीला र गणका गणपति जनमत कार्कीले संयुक्तरुपमा उद्धाटन गर्दै पालिकालाई हस्तान्तरण गरिएको थियो ।
विपद्मा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मीक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको भैरव प्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी कार्कीले बताए । जिल्ला सदरमुकामदेखि दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन् अवस्थामा हेली उद्धार गर्न सहज होस् भन्नका लागि हेलिप्याड निर्माण गरेको समेत प्रमुख सेनानी कार्किले बताए ।

मंसिरदेखि निमाणर् कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको भैरब प्रसाद गणले जनाएको छ ।
ग्रामीण क्षेत्रमा हेलिप्याड निमाणर् हुदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताए । उनले भने, ‘नेपाली सेनाले निमाणर् गरको हेलिप्याडको गाउँपालिकाले पूणर् रुपमा संरक्षण गर्नेछ ।’ नेपाली सेनाले बोगटान क्षेत्रमा हेलिप्याड निमाणर् गर्दा सैनिक र नागरिक बिचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट गाउंपालिकाका करिव १८ हजार जनसंख्या लाभान्वित हुने समेत अध्यक्ष गड्सिलाले बताए ।
जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुबिधा पुगेको छैन् । पुगेका स्थानमा समेत सहजरुपमा यातायातका साधन नजाने गरेका छन् । जिल्लामा सदरमुकाम भन्दा बाहिर बनेको यो पहिलो हेलिप्याड हो ।









