गणेश मौनी,
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३, घाङलमा खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको भलिबल प्रतियोगिताको आज एक कार्यक्रमका बिच बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरबबहादुर साउँदले उद्धाटन गरेका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि रहेका साउँदले खेलकुद स्वास्थ्यका लागि अति आवश्यक हुनुका साथै खेलाडीहरु राष्ट्रका गहना भएको बताए । उनले भने- ‘पालिकाले खेलकुदको प्रवद्र्धन र खेलाडीहरुको सम्मानका लागि सदैव सहयोग गर्ने छ ।’ बडीकेदार गाउँपालिकामा खेलकुदको प्रर्वद्धन गर्न पालिकास्तरिय खेलकुद विकास समिति गठन गर्न आवश्यक रहेको बताउदै पालिकाले सबै वडाहरुमा र पालिकास्तरमा खेलमैदान निमाणर् कार्य अघि बढाउने समेत अध्यक्ष साउदले बताए ।
बडीकेदार गाउँपालिकाभित्र रहेका विभिन्न क्षेत्रका खेलाडीहरुको पहिचान गरी तिनिहरुको संरक्षण गर्न पालिका सदैव अगाडि बढ्ने कार्यक्रमका विशिष्ठ अतिथि एवं गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बताईन् ।

खेलाडीहरुले जुनसुकै स्थानमा आफ्नो खेलहरु प्रर्दशन गर्दा अनुसाशीत र निति नियमको पूर्ण पालना गर्न आवश्यक रहेको पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए ।
खेलाडी भनेका देशका गहना हुन खेलाडीहरुको संरक्षण गर्नुका साथै खेलकुदको प्रर्वद्धन गर्न आवश्यक रहेको वडा नम्बर ५ का वडा अध्यक्ष एवं पालिका प्रवक्ता पदमबहादुर बोहराले बताए । वडा स्तरीय खेलकुदका कार्यक्रमलाई आफ्नो वडामा पनि प्राथमिकता दिने समेत अध्यक्ष बोहराले बताए ।
खेलकुदको प्रवद्र्धन गरी युवाहरु बिच एक आपसमा सद्भाव कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुद प्रतियोगिताको आयोजना गरेको कार्यक्रमका सभापति एवं वडा नम्बर ३ का वडा अध्यक्ष रामबहादुर गुरुङले बताए ।
शनिबार देखि सुरु भएको खुला वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा गाउँपालिका अन्तरगतका विभिन्न वडाबाट ८ वटा टिमको सहभागिता रहेको छ ।

आज पहिलो खेल मिर्मिरे लघुबित्त सहकारी संस्था बिपीनगर र बडीकेदार वडा नम्बर २ बिच भएको थियो जसमा मिर्मिरे सहकारीले २-० ले जित हात पारेको छ । त्यस्तै आजै भएको दोस्रो खेलमा बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वर र आयोजक ‘ख’ बिच भएका थियो । जसमा वडा नम्बर ५ को समुहले पनि २-० ले जित हात पारेको छ । तेस्रो खेलमा आयोजक ‘क’ र शिबकेदार बाल क्लब बिच भएको थियो । जसमा आयोजक ‘क’ समुहले २-० को सोझो सेटले जित हात पारेको छ ।
त्यसैगरी चौथो खेल बडीकेदार गाउँपालिका वडा नम्बर २ ‘क’ र बीरेन्द्र मावि घाङल बिच भएको थियो जसमा बीरेन्द्र माविले २-० ले जित हात पारेको छ । आज भएका खेलहरु लिग चरणमा खेलाइएका थिए । भोलि क्वाटर फाईनलका खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई रु ३० हजार द्वितीय हुने टीमलाई २० हजार र तृतीय हुने टमिलाई १५ हजार पुरस्कारका साथै प्रमाण पत्रको व्यवस्था गरिएको आयोजक समितिका व्यवस्थापक सिद्धबहादुर बिस्टले बताए ।









