खगेन्द्र सिंह
डोटी, पुस– १०,
डोटीको दिपायलमा एथलेटिक्स प्रशिक्षण तथा रेफ्रि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संचालन गरिएको उक्त तालिमको आयोजना डोटी जिल्ला खेलकुद समितिले गरेको थियो ।
तालिम पुस ४ गतेदेखि १० गतेसम्म संचालन गरिएको हो । तालिममा २३ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट एक/एक जना, डोटीका नौवटै स्थानीय तहबाट एक/एक जना तथा डोटी जिल्ला खेलकुद समितिको तर्फबाट पाँचजना स्वयंसेवक प्रशिक्षक सहित २३ जनाको सहभागिता रहेको डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।


एथलेटिक्स प्रशिक्षण तथा रेफ्रि तालिमको बुधबार समापन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काले सहभागि प्रशिक्षार्थीहरुले आ–आफ्नो क्षेत्रमा रहेका युवाहरुलाई खेलकुदमा जोड्नु पर्ने र यस क्षेत्रको गौरभमय इतिहासलाई खेलकुद मार्फत उचाईमा राख्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष शाहीले खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले तालिमको आयोजना गरिएको र आगामी दिनमा प्रत्येक पालिकाले समेत यस्ता किसिमका तालिमको आयोजना गर्नुपर्ने बताए । तालिमले सुदूरपश्चिम क्षेत्रको खेलकुद विकासको लागि महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।
तालिमको प्रशिक्षक राष्ट्रिय खेलकुद परिषदका एथलेटिक्स प्रशिक्षक धनीराम चौधरी रहेका थिए । प्रशिक्षक चौधरीले कार्यक्रममा बोल्दै तालिममा सिकेका कुराहरुलाई सहि रुपमा प्रयोगमा ल्याउन सबै प्रशिक्षार्थीहरुलाई अनुरोध गरेका थिए ।









