डोटी, पुस– २५,
डोटीमा मोटरसाइकलको ठक्करबाट एकजना बृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नमबर १० बानेडुग्रीसैन स्थित के.आई.सिंह राजमार्गमा दुर्घटना हुँदा स्थानीय ६८ बर्षिय तारा देवी बलायरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
धनगढीबाट दिपायलतर्फ आउँदै गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ घर भएका २६ बर्षिय मोहन बोगटीले चलाएको सु.प.प्र. ०१ ०१३ प ८१२८ नम्बरको मोटरसाइकलले दिउँसो करिब ३ः२५ बजेको समयमा बाटो काट्ने क्रममा पैदल यात्री बलायरलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट उनको टाउको, खुट्टा तथा अनुहारमा चोट लागेकाले उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पठाइएको र उपचारको क्रममा अहिले उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।









